फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न
लगानी तथा व्यावसायिक क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको फिनोभेटिभ ग्रुप प्रा. लि. को प्रथम साधारण सभा सम्पन्न भएको छ। ललितपुर महानगरपालिका–७, ग्वार्कोमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई व्यावसायिक गतिविधि सञ्चालन गर्दै आएको छ।
साधारण सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको स्थापना, उद्देश्य, हालसम्मको प्रगति, आगामी रणनीति तथा संस्थागत सामाजिक उत्तरदायित्वबारे जानकारी गराउनुभयो। उहाँले फिनोभेटिभ ग्रुपलाई व्यवस्थित, पारदर्शी र दीर्घकालीन लगानीको भरपर्दो माध्यमका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै संस्थागत सुशासन, जिम्मेवार लगानी र सामाजिक उत्तरदायित्वलाई कम्पनीले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थाको दिगो विकासका लागि स्पष्ट उद्देश्य, पारदर्शी कार्यशैली र दीर्घकालीन सोच आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।सभामा कम्पनीका सञ्चालक सदस्य जनक तिवारीले कम्पनीको वित्तीय अवस्था, प्रगति विवरण तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार फिनोभेटिभ ग्रुपको जारी पुँजी रु. १० करोड तथा चुक्ता पुँजी रु. ४ करोड १६ लाख रहेको छ।तिवारीले कम्पनी आफ्नो प्रारम्भिक चरणमा संस्थागत आधार सुदृढ गर्दै अघि बढिरहेको बताउँदै आगामी दिनमा योजनाबद्ध लगानी, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो। उहाँले कम्पनीको विकास र विस्तारमा योगदान पुर्याउने शेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।
तीन वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्यसाधारण सभामा कम्पनीको आगामी तीन वर्षे वित्तीय प्रक्षेपण तथा विकास योजना समेत प्रस्तुत गरिएको थियो। लगानी समितिका सदस्य अर्जुन पन्थीले आगामी तीन वर्षभित्र कम्पनीको पुँजी रु. ३० करोड पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार पुँजी विस्तारसँगै कम्पनीले लगानीको दायरा फराकिलो बनाउने, सम्भावनायुक्त क्षेत्रको अध्ययन तथा पहिचान गर्ने र जोखिम तथा प्रतिफलको उचित मूल्याङ्कनका आधारमा लगानी गर्ने रणनीति अवलम्बन गर्नेछ।
त्यस्तै, लगानी समितिका सदस्य शुक्रराज डंगोलले लगानीका सम्भावना, व्यवस्थित लगानीको आवश्यकता तथा फिनोभेटिभ ग्रुपमार्फत सामूहिक लगानीलाई संस्थागत रूपमा अघि बढाउन सकिने विषयमा प्रस्तुति दिनुभयो। उहाँले लगानी निर्णयमा जोखिम र प्रतिफलबीच उचित सन्तुलन कायम गर्दै दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार परिषद् सदस्य भरत नेपालले गर्नुभएको थियो। उहाँले फिनोभेटिभ ग्रुपले आफ्नो उद्देश्य र गन्तव्य स्पष्ट रूपमा पहिचान गरी योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको भावी यात्रा सफल बनाउन सामूहिक प्रयास र निरन्तर प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो।
प्रतिशेयर १०५ रुपैयाँमा थप लगानीको प्रस्ताव पारितसाधारण सभाले कम्पनीको शेयरमा थप लगानीका लागि प्रतिशेयर रु. ५ प्रिमियम थप गरी रु. १०५ प्रतिशेयरका दरले लगानी गर्न सकिने प्रस्तावसमेत पारित गरेको छ। कम्पनीका अनुसार उक्त व्यवस्था कात्तिक १ गतेदेखि लागू हुने प्रस्ताव गरिएको छ।
फिनोभेटिभ ग्रुपले आगामी दिनमा पुँजी विस्तारसँगै आफ्नो लगानी पोर्टफोलियोलाई थप विविधीकरण गर्ने नीति लिएको छ। कम्पनीले पुँजी बजार, सेवामूलक क्षेत्र, उत्पादनमूलक उद्योग तथा अन्य सम्भावनायुक्त व्यावसायिक क्षेत्रमा जोखिम र प्रतिफलको वस्तुनिष्ठ विश्लेषणका आधारमा लगानी विस्तार गर्ने जनाएको छ। कम्पनीका अनुसार लगानीको उद्देश्य तत्कालीन लाभमा मात्र सीमित नभई दीर्घकालीन मूल्य सिर्जना, पुँजीको संरक्षण तथा वृद्धि, संस्थागत सुशासन र दिगो प्रतिफल हासिल गर्नु हो। यसका लागि व्यावसायिक व्यवस्थापन, पारदर्शी निर्णय प्रक्रिया, विवेकपूर्ण जोखिम व्यवस्थापन र योजनाबद्ध पुँजी परिचालनलाई कम्पनीले आफ्नो प्रमुख कार्यदिशाका रूपमा अघि बढाउनेछ।
फिनोभेटिभ ग्रुपले आफ्नो आगामी यात्रालाई केवल पुँजी विस्तारको अभियानका रूपमा नभई विश्वास, सहकार्य, जिम्मेवार लगानी र दीर्घकालीन सम्भावनामा आधारित संस्थागत यात्राका रूपमा अघि बढाउने लक्ष्य लिएको छ। शेयरधनी तथा सरोकारवालाको विश्वासलाई आधार बनाउँदै उत्पादनशील क्षेत्रमा पुँजी परिचालन, सम्भावनायुक्त क्षेत्रमा विवेकपूर्ण लगानी र संस्थागत क्षमताको निरन्तर विकासमार्फत कम्पनीले सुदृढ, पारदर्शी र दिगो लगानी संस्था निर्माण गर्ने लक्ष्य लिएको छ। यही लक्ष्यलाई केन्द्रमा राख्दै फिनोभेटिभ ग्रुपले बदलिँदो व्यावसायिक वातावरणमा नयाँ अवसरको पहिचान, जिम्मेवार पुँजी परिचालन र दीर्घकालीन आर्थिक मूल्य सिर्जनालाई आफ्नो आगामी यात्राको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। ph here